किस्ताबन्दीमा बक्यौता महसुल तिर्न प्राधिकरणको आग्रह
-
कार्तिक १८,२०७६ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंक लाइन सुविधा लिएका ग्राहकले प्रिमियमसहितको छुट महसुल किस्ताबन्दीमा तिर्नसक्ने व्यवस्था गरेको छ । शनिबार बसेको सञ्चालक समिति वैठकले डेडिकेटेड लाइन सुविधा लिएका सबै ग्राहकको बाँकी महसुल उठाउने निर्णय गरेको थियो ।
झण्डै ११ अर्ब रुपैयाँ एकैपटक तिर्न ग्राहकलाई मुस्किल पर्ने देखिएपछि छुट महसुुल किस्ताबन्दीमा तिर्न सकिने गरी प्राधिकरणले अर्को निर्णय गरेको हो । यसका लागि विद्युत् महसुल संकलन विनियमावली २०७३ र विद्युत् वितरण विनियमावली २०६९ प्राधिकरणले संशोधन गरेको छ ।
प्राधिरकरणका सञ्चालक समितिका एक सदस्यका अनुसार ग्राहकलाई अप्ठेरो नपरोस् भनेर छुट महसुल तिर्न किस्तावन्दीको सुविधा दिइएको हो ।
अब जति महिनाको छुट महसुल बाँकी छ, त्यति नै महिना लगाएर किस्तामा महसुल तिर्न सकिन्छ,’ उनले भने, यसले उद्योगलाई सहज हुन्छ र प्राधिरकणले पनि बक्यौता महसुल प्राप्त गर्छ ।’
उदाहरणका लागि १२ महिनाको डेडिकेटेड तथा ट्रंक लाइनको छुट महसुल तिर्न बाँकी ग्राहकले अब १२ वटा किस्तामा भुक्तानी गर्न सक्नेछन् । यो विशेष किस्तावन्दीको सुविधा पाउने ग्राहकले ढिलाइ हुँदा तिर्नुपर्ने जरिवानाबापतको रकम पनि तिर्नुनपर्ने गरी विनियमावलीहरू संशोधन गरिएको छ ।