अझै केही वर्ष व्यापार घाटा कायम रहन्छः आपूर्तिमन्त्री यादव

सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा जोड

कार्तिक २०,२०७६

-

कार्तिक २०,२०७६ काठमाडौं।
 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पुँजी र सीपको प्रयोग गरेर देशले आफैं उत्पादन नगरेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन् ।
 
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्र निर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ ।
 
“नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,” मन्त्री यादवले भने, “सहकार्य गर्नतिर बढी कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पुँजी पनि हुन्छ ।” उनले बाह्य पुँजी र प्रविधि भित्र्याउन सकिने बताउँदै बढि जोड आन्तरिक पुँजी र प्रविधि दिनुपर्ने बताए । यादवले भने, “आन्तरिक पुँजी र प्रविधि परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिन्छ ।”
 
मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पारेका छन् । सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क उनको छ ।