चिसोका कारण अनशसरत डा.केसीको स्वास्थ्यमा समस्या

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
चिकित्सा क्षेत्र सुधारसहितका सात बुँदे माग राख्दै डडेल्धुरामा अनशसरत डा। गोविन्द केसीको अनशन आज चौथो दिनमा प्रवेश गरेको छ ।
 
विगतमा आफूसँग भएका सम्झौता पालनामा सरकार इमान्दार नदेखिएको भन्दै त्यसको पालना हुनुपर्ने लगायतका मागमा उनको अनशन केन्द्रित छ ।
 
चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नुपर्नेमा सरकार उल्टै त्यसको पक्षपोषणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्रौँ सत्याग्रह थालेका हुन् ।
 
चिकित्सा शिक्षा आम मानिसको पहुँचमा पुग्न नसकेको र कलेज संचालकले विद्यार्थीहरुबाट तोकिएकोभन्दा बढी शुल्क असुल्दा पनि सरकार मुकदर्शक बनेर बसेको भन्दै दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको माग छ ।
 
विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड निर्धारण कार्यदलका सुझाव कानुनमा समेटी कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन जारी गर्दा सरकारसँग भएको सहमति कार्यान्वयन गरी विद्यार्थी र जनतामुखी ऐन संशोधन गर्नुपर्नेमा उनको जोड छ ।
 
चिकित्सा शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न डडेलधुरा, उदयपुर, इलाम, पाँचथर, प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रकृया अघि बढाउनुपर्ने पनि उनले माग राखेका छन् ।
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुचित ढंगले एमडीजीपी कार्यक्रम संचालन अनुमति रोकेको केसीको भनाइ छ ।
 
कर्णालीमा पूर्वाधार र जनशक्ति दिएर एमबीबीएस संचालन गर्न तथा निजी कलेजको स्वार्थअनुरुप शुल्क र सीट वृद्धि सम्बन्धी संसदीय उपसमितिको निर्णय खारेज गर्नुपर्ने उनकोे माग छ ।
 
डा। केसीले राखेका मागहरु समग्र नेपाली जनताको हितमा रहेकाले सरकारले पूरा गर्नुपर्ने स्थानीय समाजसेवी बलराम भट्ट बताउँछन् ।
 
अनशनरत केसीको मागलाई समर्थन गर्दै दैनिक सयौँ सर्वसाधरणले भेटघाट गरिरहेका छन् । उनले स्वास्थ्यमा केही समस्या देखिन थालेको पनि चिकित्सकहरुले बताएका छन् ।
 
पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरामा एउटा मेडिकल कलेज हुनुपर्ने माग स्थापित गराउनकै लागि अनशनस्थलका रुपमा डडेल्धुरालाई रोजेको उनको भनाइ छ ।