नेपालमा उत्पादित विद्युत भारतमा बेच्न सहमति भइसक्योःउर्जामन्त्री पुन

कार्तिक २२,२०७६

-

कार्तिक २२,२०७६ काठमाडौं ।
ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताउनुभएको छ । प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतीय  बजारमा  नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताउनुभयो । 
 
नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
 
विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार,  पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताउनुभयो । 
 
बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताउनुभयो । अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी उहाँको छ । 
 
दाङसहितका जिल्लाहरुलाई पूर्ण विद्युतीकरणका जिल्ला बनाउने गरी अहिले काम भइरहेको दाबी उहाँको छ ।