काँग्रेसको स्वास्थ्यकर्मी संघमा उपेन्द्र यादव निकटका व्यक्ति उम्मेदवार !
-
कात्तिक २४, २०७६ काठमाडौं ।
नेपाली काँग्रेसको सुवेच्छुक संगठन नेपाल स्वास्थ्यकर्मी संघमा संघीय समाजवादी पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव निकट व्यक्ति उम्मेदवार बनेका छन् ।
संघको निर्वाचन हुने निश्चित भएपछि यादवले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा नियुक्त गरेका दिपकराज भट्ट संघको महासचिवमा उम्मेदवार बनेका हुन् ।
काँग्रेस निकट संगठनमा आफ्ना मान्छेलाई निर्वाचित गराएर संघलाई आफ्नो अनुकुल चलाउने यादवको रणनीति अनुसार भट्ट उम्मेदवार भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
आफुले नियुक्त गरेको व्यक्तिलाई प्रमुख प्रतिपक्षी दलको संगठनको मुख्य पदमा नियुक्त गरेपछि संघका सवै रणनीति तथा कार्यक्रमहरु सजिलै थाहा पाईने वा आफ्ना विरुद्धमा संघले केही गर्न नसक्ने बनाउन यादवले आफु निकटस्थलाई उम्मेदवार बनाएको चर्चा छ ।
काँग्रेसको संगठनलाई अर्को पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री यादवले कब्जा गर्न खोजेको भन्दै काँग्रेस निकट स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले भट्टलाई जिताएमा संगठन पेन्डुलम हुने, आन्तरिक सूचना सजिलै मन्त्रीसम्म पुग्ने, मन्त्रीलाई दवाव दिनेगरी कुनै पनि काम गर्न नसक्ने भएकाले भट्टलाई जिताउनु आत्मघाती हुने बताएका छन् ।
काँग्रेसको संगठन कब्जा गरेर संघलाई निस्क्रीय पार्ने तथा सवै सूचना सहजै प्राप्त गर्ने रणनीति अनुसार भट्टलाई रजिष्टारमा नियुक्त गरेर महासचिवमा उठ्न लगाएको स्वास्थ्यकर्मीहरुको ठहर छ ।
संघलाई निस्क्रीय बनाउने वा फुटाउनेसम्मको सर्त राखेर यादवले भट्टलाई रजिष्टारमा नियुक्त गरेको श्रोतले दावी गरेको छ ।
उनीहरुले भट्टको सट्टामा महासचिवमा शंकर कँडेलाई जिताउन काँग्रेस निकट सवै स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको छ । संघमा वर्तमान अध्यक्ष रामजी घिमिरे, सहअध्यक्ष ओमप्रसाद उपाध्यायलगायतको नेतृत्वमा छुट्टा छुट्टै समूह चुनावी मैदानमा रहेका छन् ।
हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव विवादै विवादका कारण दुई वर्ष ढिला गरी हुन लागेको हो । देशभरी झण्डै १८ हजारभन्दा बढी सदस्य रहेको संघको महाधिवेशनमा झण्डै ६ सय प्रतिनिधि सहभागी भएका छन् ।