जेठ २८,२०७४
-
जेठ २८ – नेपाल भलिबल संघले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरेका हुन् । भलिबल नेपालको राष्ट्रिय खेल घोषित भएपछि उत्साहित बनेको संघले पहिलो पटक स्कुलस्तरमा महिला र पुरुषको युथ टुर्नामेन्ट गर्ने देखि लिएर भलिबल दिवस मनाउने राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई निरन्तरा दिँदै वार्षिक योजना सार्वजनिक गरेको हो। चन्दले विकेन्द्रीकरणको सिद्धान्तअनुसार देशका हरेक क्षेत्र समेटेर कार्यक्रम घोषणा गरिएको जानकारी दिए । घोषित कार्यक्रमअनुसार संघले असार महिनामा राष्ट्रिय पुरुष तथा महिला टोलीको सम्मान गर्ने भएको छ । सो कार्यक्रममा एभीसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्ने भएको छ । वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ । संघले पहिलोपटक यू-१८ महिला तथा पुरुष अन्तरविद्यालय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ भने अन्तरकलेज भलिबल प्रतियोगितालाई पनि यही आर्थिक वर्षमा आयोजना गर्ने जनाएको छ । विद्यालय र कलेज भलिबलको मेरुदण्ड भएकाले विद्यालय तथा कलेज प्रतियोगिता सुरु गरिएको महासचिव चन्दले बताए । यसैगरी विद्यालय भलिबल कमिसनको आयोजनामा भलिबल महोत्सव आयोजना गरिने भएको छ । यसतै साउन महिनामा प्रशिक्षकहरूका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हरेक जेठ ८ गते भलिबल दिवस मनाउने घोषणा गरिएको छ । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको विकास र विस्तारका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । महासचिव चन्दले घोषित कार्यक्रमका लागि सरकारसँग बजेट माग गरिसकेको जनाउँदै सरकारबाट सहयोग नभए पनि घोषणा गरिएका कार्यक्रम पूरा गर्न भलिबल संघ लागिपर्ने प्रतिबद्धता जनाए । साथै, जुन २५ मा नेपाल आउने उनले नेपाल बसाइका क्रममा महिला तथा पुरुष सिनियर टोलीका साथै नेपालका भलिबल प्रशिक्षकलाई पनि तालिम दिनेछन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार