आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन स्थानियलाई प्रधामन्त्रीको आग्रह
-
मङ्सिर २,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन्। उत्पादन सुरु भएको पाँच महिनापछि ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताए।
प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भइरहेको पनि धारणा राखे। उनले सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए।
प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए।
२०६८ वैशाखदेखि निर्माण सुरु भएको आयोजनाले गएको जेठ २ गतेबाट परीक्षण उत्पादन सुरु गरेको थियो। भूकम्प, नाकाबन्दी, स्थानीयको अवरोधलगायतका समस्या छिचोलेर निर्माण सम्पन्न गरेको आयोजनाले सोमबारदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ।
६० मेगावट क्षमताको आयोजनाले पाँच महिनाअघिदेखि नै उत्पादन सुरु गरेको थियो। आयोजनाको केही काम बाँकी रहेपछि आयोजना व्यवसायिक उत्पादनमा गएको थिएन्। उद्घाटन भएसँगै आयोजनाले सोमबार नै टेकिङ ओभर सर्टिफिकेट दिएको छ।
सोमबारदेखि व्यवसायिक उत्पादन सुरु भएको जानकारी दिँदै आयोजना प्रमुख फडिन्द्रराज जोशीले वर्षको नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने बताए। बाँकी तीन महिना आयोजनाले ४५ मेगावट विद्युत् उत्पादन गर्ने छ।
रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। व्यवसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ। रासस