कास्कीमा अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार
-
मंसिर ३,२०७६ काठमाडौं ।
कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ।
महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ। ‘महानगरपालिकाले नै डिपिआर तयार गरेको होे,’ पोखरा महानगरपालिकाका इन्जिनियर राजु रेग्मीले भने, ‘फुटबल मैदानसहित अन्य खेलकुदका पूर्वाधारलाई डिपिआरमा समेटिएको छ।’ उनका अनुसार योजना पूरा हँुदा १६ करोड रुपैयाँ खर्च हुनेछ।
५६ रोपनीमा फुटबल मैदानहसहित बास्केटबल र भलिबल कोर्ट बनाइने छ । मौजा महानगरपालिकाको दुर्गम वडाका रूपमा चिनिन्छ। सडक सन्जालले छोए पनि प्रभावकारी भने छैन।
बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन गत वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो। रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो।
यद्यपि डिपिआर तयार नहुँदा कामलाई थाती राखियो। ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने, त्यसबाहेक बास्केटबल र भलिबल कोर्टसमेत बनाइनेछ।’ भिरालो जमिनकै कारण ल्यान्डस्केप गरी निर्माण गरिने इन्जिनियर रेग्मीले बताए। नागरिक दैनिक