Trending :
 

किसान समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य

मंसिर ०३,२०७६

-

मंसिर ३,२०७६ काठमाडौं ।
बिचौलियाको काम गर्ने व्यापारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान)को मिलेमतोले किसान समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य भएका छन्। खाद्यले खरिद नगरेपछि बिचौलिया व्यापारीले भनेकै मूल्यमा बेच्न बाध्य भएको भजनी गाविस-२ का किसान खुमबहादुर खड्काले बताए। उनका अनुसार सरकारले यस वर्षका लागि तोकेको समर्थन मूल्यभन्दा बिचौलियालाई प्रतिक्विन्टल ६ सय रूपैयाँ सस्तोमा धान बेचिएको छ।
 
‘खाद्यले किसानबाट धान किन्दैन,’ उनले भने, ‘गहुँ खेती लगाउन मल, सिँचाइ लगायत खर्चको लागि बिचौलियालाई सस्तोमा धान बेच्नुको विकल्प नै भएन।’ उनले प्रतिक्विन्टल १९ सयका दरले धान बेचेको बताए। सरकारले मोटो धानको २५ सय ३२ रूपैयाँ ८० पैसा र मसिनोको २६ सय ७३ रूपैयाँ समर्थन मूल्य तोकेको थियो।
 
खाद्यले खरिद नगर्ने र व्यापारी तथा बिचौलियाको सिन्डिकेटका कारण सबै किसानले सस्तोमा बिचौलिया व्यापारीलाई धान बेचेका छन्। ‘हामीले अहोरात्र खटेर उब्जाएको धानको मूल्य पाउँदैनौं,’ भजनी-३ का किसान फूलराम चौधरी भन्छन्, ‘प्रतिक्विन्टल १९ सयमा बेच्दा लागत पनि उठेन।’ गहुँ खेतीका लागि पैसा चाहिएकोले लागत खर्च नउठे पनि बिक्री गर्नुपरेको उनको भनाइ छ।
 
विगत वर्षमा सरकारले समर्थन मूल्य नै ढिलो तोक्ने गथ्र्यो। गत वर्षदेखि समयमै समर्थन मूल्य तोके पनि खाद्य संस्थानले खरिद नगर्ने र बिचौलिया व्यवसायीको सिन्डिकेटका कारण किसानले सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्न पाएनन्।
 
‘खाद्यभित्रै माफिया छन्। सरकारले समर्थन मूल्य २५ सय तोकेको छ, हामीले ६ सय सस्तोमा बेच्नुपरेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका प्रेम कुँवरले भने, ‘किसान लुटिँदा समेत कसैको ध्यान गएको छैन।’