भारतमा प्रदुषण बढेपछि ताजा हावाको अनुभूति दिलाउन अक्सिजन बार सञ्चालन !

मंसिर ०५,२०७६

-

मंसिर ५,२०७६ काठमाडौं ।
 विश्वकै सबैभन्दा प्रदूषित शहर मानिएको भारतको नयाँ दिल्लीमा पहिलोपटक एउटा अक्सिजन बार खुलेको छ जसले १५ मिनेट सम्मका लागि ग्राहकहरुलाई सफा हावा प्रदान गर्दछ । अक्सि प्योर नामक सो बारमा केबल ३०० भारुमा ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन ग्यास प्रदान गर्ने गरिएको छ । 
 
सो ग्यासमा लेमनग्रास, ल्याभेन्डर, चेरी लगायत विभिन्न फ्लेबर समेत उपलब्ध रहेको बताइएको छ । शहरको दक्षिणतर्फ रहेको एक चर्चित मलमा अवस्थित सो बारमा ग्राहकहरुलाई ‘नोज ट्युब’ लगाउन दिइन्छ र त्यसपछि बास्नादार तेलमार्फत अक्सिजनको बबल उत्पादन गरि सास फेर्न सकिन्छ । 
 
यसरी अक्सिप्योरले ‘प्रदुषण विशेष’ भनेर ग्राहकहरुलाई अर्को छट्टै सेवा पनि राखेको छ । गत मे महिनामा २६ वर्षीय एभीर कुमारले खोलेको सो बारले प्रति दिन ३० देखि ४० ग्राहकलाई सेवा दिने गरेको बताए । 
 
यति मात्र नभएर शहरको धुलोधुँवाबाट वाक्क भएका ग्राहकहरुलाई ताजा हावाको अनुभूति दिलाउनका लागि बोतलमा शुद्ध अक्सिजन विक्री समेत गर्ने गरेको उनले बताएका हुन् । 
 
 
केही समय अगाडि मात्र दिल्लीको प्रदुषण चरम बिन्दुमा पुगेपछि सरकारी निकायहरुले आपत्कालीन घोषण गर्दै विद्यालय लगायत सबै संस्थाहरु बन्द गर्न निर्देशन दिएका थिए ।
 
यस्तोमा स्ट्रेट टाइम्ससँगको कुराकानीमा कुमारले पनि आफ्नो देशको सरकारले मानिसलाई स्वच्छ हावामा सास फेर्ने अधिकारबाट समेत वञ्चित गराएकामा शर्मनाक महसुस गर्ने गरेको बताए ।
 
 वास्तवमा यस किसिमका अक्सिजन बारहारु पश्चिमका विकसित मुलुकहरुमा निकै लोकप्रिय छन् भने विशेष रुपमा यसलाई स्पा ट्रिटमेन्ट वा खेलाडीहरु घाइते हुँदा प्रयोग गर्ने गरिएको छ । डाक्टरहरुले भने शुद्ध अक्सिजनमा सास फेर्नुका फाइदा अहिलेसम्म पत्ता नलागेको बताउँदै आएका छन् ।
 
तर त्यसले कुनै हानि पनि नपुर्याउने र ताजा अनुभव दिलाउने हुँदा दिल्लीका वासिन्दाहरु अक्सिजन बारसँग सन्तुष्टि जनाइरहेका छन् । 
 
स्वास्थ्यमा थोरै मात्र प्रभाव पारेपनि उनीहरु केही क्षणका लागि सफा हावामा सास फेर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको कुमार बताउँछन् । युक्रेनकी नागरिक लिजा द्विवेदीले न्युयोर्क टाइम्ससँग बताए अनुसार उनी अत्याधिक प्रदूषणका कारण आँखा पोल्ने, रुगा लाग्ने र घाँटी सुन्निने समस्याबाट दिक्क भएर राहतका लागि अक्सिप्योरमा आउने गरेकी छन् । 
 
उनी भन्छिन्, “मलाई थाहा छैन यो सायद मनोवैज्ञानिक कारण हुन सक्छ तर १५ मिनेटकै लागि भएपनि शुद्ध हावामा सास फेरिरहेको आभासले मात्र पनि मलाई अत्यन्तै खुसी महसुस हुन्छ ।”एजेन्सी