बिवाहको मौसममा मूल्य बढे पछि सुन कारोबारमा गिरावट
-
मंसिर ५,२०७६ काठमाडौं ।
मंसिर महिना विवाहको महिना सुरु भएपनि सुनको मूल्य बढे पछि बजारमा सुन कारोबारमा निकै कमी आएको छ ।
नेपालमा २२ हजार व्यवसायीले सुनको कारोबार गर्दै आएका छन् । नेपाली बजारमा दैनिक २० किलो सुन खपत हुने गरेको छ । मुख्य सिजनमा यो परिमाण ५० किलोभन्दा माथि पुग्छ । पछिल्लो सयम सुनको मूल्य वृद्धि भएसँगै बजारमा सुनको कारोबार कमजोर अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।
मूल्य वृद्धि भएकै कारण बजारमा दैनिक करिब १० किलोको हाराहारीमा मात्र सुनको कारोबार भइरहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
सुनचाँदी व्यवसायी महासंघले गतवर्षको तुलनामा यो वर्ष ७० प्रतिशत कम सुनको कारोबार भएको बताएको छ । पछिल्लो समय सुनको मूल्य स्थिर नभएरको र मूल्य बढ्नेक्रम जारी रहेकाले कारोबार थोरै भएको महासंघको भनाइ छ ।
यसैबीच, नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले सुनको भन्सार महशुल वृद्धि, अमेरीका र चीनबीच विद्यमान ट्रेडवार र अन्तराष्ट्रिय बजारमा सेयर बजार कमजोर भएकाले सुनको मूल्य वृद्धि भएको बताए ।
नेपाल सरकारले सुनमा प्रतितोला दुई हजार रुपैयाँ (पर ग्राम १५सय) भन्सार बढाएको उनले प्रस्ट पारे ।
“बजारमा सुनको मूल्य घट्ने संकेत छैन । यो समय सुन कारोबार हुने मूख्य समय भएपनि सुन बजार सुनसान छ । दैनिक कारोबार २० किलो पनि छैन, गत वर्ष यो समयमा दैनिक ५० किलो भन्दा माथि सुनको कारोबार भएको थियो,” बज्राचार्यले भने ।
बुधबारको तुलनामा बिहीबार (आज) बजारमा सुनको मूल्य घटेको छ । महासंघका अनुसार बुधबार प्रतितोला ७२ हजार एक सय रुपैयाँ रहेको सुन बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि छापावाला सुन प्रतितोला ७२ हजार र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको महासंघले बताएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी बिहीबार प्रतितोला पाँच रुपैयाँ घटेर ८६० रुपैयाँमा झरेको हो ।