अतिरिक्त शुल्क फिर्ता नभएपछि मेडिकल कलेजका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन
-
मंसिर ८,२०७६ काठमाडौं ।
अतिरिक्त शुल्क फिर्ता नभएपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित आइतबार सडक प्रदर्शन थालेका छन् । अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ ।
आइतबार भरतपुर विरेन्द्र क्याम्पसबाट निस्केको विरोध र्याली नारायणगढ सहिदचोक पुगेर भरतपुर तर्फ नै फर्केको थियो। भरतपुर चौबिसकोठीमा आयोजित कोणसभामा विद्यार्थी र अभिभावकहरुले सम्बोधन गरेका थिए।
चितवन मेडिकल कलेज ९सिएमसी०का विद्यार्थीले गठन गरेको चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार भरतपुरमा रहेको सिएमसीको शिक्षण अस्पताल अगाडी विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो।
शनिबार साँझपख सिएमसीको शिक्षण ब्लक भित्र पेस्तोल फेला परेको समाचार सार्वजनिक भएको थियो। पूर्व निर्धारित कार्यक्रम बिथोल्न हतियार बरामदको कुरा निकालेको विरोध प्रदर्शनमा आएको विद्यार्थीले आरोप लगाए।
विद्यार्थी भेला हुने भनेर तोकिएको क्षेत्र वरपर प्रहरीको बाक्लो उपस्थिती थियो। चौबिसकोठी चोकमा सशस्त्र प्रहरीको समूहले पहरा दिएको थियो। सिएमसीको शिक्षण अस्पताल गेटमा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु सुरक्षाका लागि तैनाथ थिए।
विरेन्द्र क्याम्पस अगाडी नारायणगढ वडा प्रहरी कार्यालयका प्रहरीहरु बसेका थिए। ठाउँ ठाउँमा प्रहरीको बाक्लो उपस्थिती थियो। प्रदर्शनमा सिएमसी बाहेकका विद्यार्थी पनि सहभागि थिए।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द कार्यक्रममा देखिएनन्। चन्द प्रतिबन्धित नेकपा समूहका नेता नेत्रविक्रमका छोरा हुन्। सिएमसीका विद्यार्थी प्रकाशले आन्दोलनको अगुवाइ गरेका कारण कलेजले यो आन्दोलन कसैको राजनीतिक अभिष्ट पुरा गर्न सञ्चालन भएको’ भन्ने धारणा सार्वजनिक नै गरेको छ। चितवन मेडिकल कलेजमा गएको भदौदेखि नै आन्दोलन चल्दै आएको छ।
लगभग महिना दिन आन्दोलन भएपछि गएको असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा कलेज सञ्चालक, विद्यार्थी र अभिभावकहरुबीच वार्ता भएको थियो।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा भएको वार्तामा कात्तिक १८ गतेभित्र सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्न कलेज प्रशासन तयार भएको थियो।