Trending :
 

नेपाल-चीनबीच भएका समझदारी अघि बढाउने विषयमा छलफल

मंसिर ०८,२०७६

-

मंसिर ८,२०७६ काठमाडौं । 
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चीनका राजदूत होऊ यान्छीबीच दुई देशबीच एका समझदारी अघि बढाउने विषयमा छलफल भएको छ ।
 
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्वीपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
 
उक्त भेटमा पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ । 
 
मन्त्री पुनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे । 
 
चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौता भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रती धन्यवाद दिएका थिए । 
 
मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियां ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियां राजदूतको ध्यानआकर्षण गराएका थिए । पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियां लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पुर्ण रुपमा सहजीकरण गरिरहेको समेत उनले बताए । 
 
चिनियाँ राजदूत यान्छीले चिनियां कामदारले ब्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानका विषयमा उर्जामन्त्रीले खेलेको भुमिकाको प्रशंसा गरिन् । 
 
उर्जा संयन्त्रको बैठकका लागी आफुले सरोकारबाला निकायसंग छलफल गरेर बैठकको मिती चाँडै टुंगो लगाउने उनले जानकारी दिइन् । युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिंदै भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुने बताइन् ।