जेठ २९,२०७४
-
जेठ २९ –
साग स्वर्ण विजेता निमा सम्मानित भएकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक प्राप्त गरेकी निमा घर्ती मगर आइतबार सम्मानित भएकी हुन् ।
प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा निमालाई नगदसहित सम्मान गरिएको हो । काभ्रे जिल्ला खेलकुद विकास समितिको तर्फबाट निमालाई समितिका उपाध्यक्ष प्रदीप बोगटीले व्यक्तिगत ५० हजार प्रदान गरी सम्मान गरे । पुरस्कार प्राप्त गरेपछि निमाले तत्कालै उक्त रकम मध्ये ६० प्रतिशत आयोजक मार्सल आर्ट अर्गनाइजेसनलाई प्रतियोगिताका लागि सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरिन् । सोही अवसरमा १२ औं सागका अन्य पदक विजेतालाई उसु खेलाडीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन बन्यो । बुद्ध प्रकाशले १३ स्वर्ण, ४ रजत र ८ कांस्य जित्यो । ११ स्वर्ण, १ रजत र १ कांस्यसाथ कैलाली उसु क्वान दोश्रो तथा ५ स्वर्ण, ८ रजत र ३ कांस्यसाथ मनमैजु उसु क्वान तेश्रो भए । सान्सौंको पुरुषमा कैलालीका नवीन जर्घा मगर तथा महिलामा बुद्ध प्रकाशकी एलिशा नगरकोटी उत्कृष्ट खेलाडी चुनिए । थाउलोको पुरुषमा डोल्फिनका कल्याण राई तथा महिलामा मनमैजुकी दीपिका राई उत्कृष्ट खेलाडी ठहरिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, आयोजकका अध्यक्ष राजिव महर्जनलगायतले पुरस्कृत गरे । प्रतियोगितामा ६ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार