बहुमतसिद्ध गर्न नसक्ने भएपछि भारत महाराष्ट्रका मुख्यमन्त्री फडणवीसले दिए राजीनामा
-
मंसिर १०,२०७६ काठमाडौं ।
भारत महाराष्ट्रका नवनियुक्त मुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिएका छन् । विधान सभामा बहुमतसिद्ध गर्न नसक्ने भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
मंगलबार नै भारतको सर्वोच्च अदालतले फडणवीसलाई भोलि बुधबार २७ नोभेम्बरमा बहुमत साबित गर्न आदेश दिएको थियो ।
महाराष्ट्रमा हालैसम्पन्न विधान सभामा कुनै दलले पनि बहुमत ल्याउन नसकेपछि नयाँ सरकार बनाउन नै तानातानको अवस्था श्रृजना भएको छ ।
सर्वोच्चले आफ्नो फैसलामा सभामुखको चुनावलगत्तै फलोर टेस्टको कार्यवाही शुरू गर्न र विधान सभाको कार्वाही गोप्य नगरेर प्रत्यक्ष प्रशारण गर्न भनेको थियो ।
विधानसभामा कसैले पनि बहुमत ल्याउन नसकेको महाराष्ट्रमा भारतीय जनता पार्टीले राष्ट्रवादी कांग्रेसका नेता अजित पवारलाई आफुतिर तानेर सरकार गठन गरेको थियो । फडणवीस नेतृत्वको सरकारमा पवार भने उपमुख्यमन्त्री बनेका थिए ।
जबकी राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारले भने शिव सेनालाई समर्थन गरेका छन् । महाराष्ट्रमा शिवसेना, राष्ट्रवादी कांग्रेस र कांग्रेस आई मिलेर सरकार बनाउन गभर्नरसँग समय मागिरहेका बेलामा भाजपाले राष्ट्रवादी कांग्रेसकै नेता अजित पवारलाई फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाएको थियो ।
एउटै गठबन्धन बनाएर निर्वाचन लडेका भाजपा र शिवसेनाले मूख्यमन्त्री आफैलाई चाहिने दाबी नछाडेपछि त्यहाँ नयाँ समीकरण बनेको छ । भाजपा एकातिर र शिवसेना, राष्ट्रवादी कांग्रेस र कांग्रेस आई अर्का कित्तामा छन् ।
यो समीकरणले सरकार बनाउन दाबी पेश गरिरहेकै बेला राष्ट्रपति शासन घोषणादेखि अजित पवारलाई राष्ट्रवादी कांग्रेसबाट फुटाएर आफ्नो कित्तामा ल्याउँदै भाजपाले मुख्यमन्त्रीको शपथ लिएको थियो ।
तर अदालतले प्रक्रिया नलम्ब्याउन भन्दै बहुमतसिद्ध गर्न भनेपछि शरद पवारको पार्टी फुटाएर बहुमत देखाउने भाजपाको खेल तूहिएको छ ।
जसरी पनि मूख्यमन्त्री आफ्नै बनाउन भाजपालले राज्यपाललाई समेत प्रभावमा पारेर संविधान विपरित हर्कत गरेको आरोप अरु दलले लगाएका थिए ।
भाजपाका फडणवीसलाई मूख्यमन्त्री बनाउनकै लागि संविधान मिचेर २३ नोभेम्वरको विहान साँढे पाँच बजे नै राज्यपाल भगतसिंह कोशियारीले शपथ दिलाएको विपक्षीको आरोप छ । यसविरुद्धमा अरु दल सर्वोच्च पुगेका थिए ।
मुख्यमन्त्री पदबाट राजीनामा गर्दै फडणवीसले भने, ‘सर्वोच्चको आदेशपछि अजित पवारले समर्थन दिन नसक्ने बताएकाले बहुमत नपुग्ने भएपछि राजीनामा दिए ।’