जेठ २९,२०७४
-
जेठ २९ –
भारतीय चर्चित गायक कुमार सानुले काठमाडौंमा लाइभ कन्सर्ट गर्ने भएका छन् । थुप्रै नेपाली फिल्मका गीतमा समेत आवाज दिएका सानुले असार ३१ गते नेपाली श्रोताबीच आफ्ना गीत प्रस्तुत गर्न लागेका हुन् ।
मुन्टेज इन्टरनेसनलको आयोजना र समसारा यूकेसँग सहकार्यमा हुन लागेको उक्त कन्सर्टमा गायक सानुको ब्यान्डसहित केही नेपाली कलाकारको पनि प्रस्तुति रहनेछ । 'कुमार सानु लाइभ इन कन्सर्ट' मा नेपालबाट रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरेको गायन प्रस्तुति रहनेछ । हास्यकलाकार जितु नेपाल र अभिनेत्री निशा अधिकारीले ‘कुमार सानु लाइभ इन कन्सर्ट’ सञ्चालन गर्नेछन् ।
मोन्टेजले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मुन्टेज इन्टरनेशनलका प्रबन्ध निर्देशक रोशन पराजुलीले गायक कुमारको प्रस्तुतिले दुई देशबीच सांस्कृतिक भाइचारामा नयाँ आयाम थप्ने बताए । 'केही समयदेखि भारतसँग हाम्रो केही तिक्तता बढेको छ। त्यसकारण हामी यो कार्यक्रममार्फत पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक भाइचारालाई पनि मजबुत बनाउन चाहन्छौं,' राजधानीमा आइतबार पत्रकारसँग पराजुलीले भने, 'नेपालमा भारतीय पर्यटकको पनि ध्यान खिच्नका लागि कार्यक्रमले सहयोेग पुर्याउनेछ।' पराजुलीले कुमारको कन्सर्टमा करिब १ हजार दुई सय दर्शकको अपेक्षा गरिएको बताए । चलचित्रका स्वर्गीय अभिनेता श्रीकृण श्रेष्ठ र उनकी श्रीमती एवं नायिका श्वेता खड्काको नाममा रहेको श्वेताश्री फाउन्डेसनलाई कन्सर्टबाट उठेको केही प्रतिशत रकम दिने उनले बताए ।
आयोजकका अनुसार कुमार असार ३० गते काठमाडौं आउनेछन् र असार ३१ गते बेलुका हुने कार्यक्रमपछि साउन १ गते माउन्टेन फ्लाइट र पशुपतिको यात्रा गरेपछि साउन २ गते भारत फर्किनेछन् । सन् १९९३ मा वर्षभरिका सबैभन्दा बढी गीत रेकर्डिङ गराउने गायकका रूपमा गिनिजबुकमा नाम लेखाएका कुमार सानुले गाएका नेपाली गीतमध्ये ‘पुरानो हुँदैन माया’, ‘मत अब रिसाउँछु’, ‘भरे आउँछु सपनीमा’, ‘फूल भए जिन्दगी’लगायत दर्जनौँ गीत चर्चित छन् ।
प्रमुख समाचार