प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, अझै २-३ दिन भिजिटरले भेट्न नपाउने
-
मंसिर ११,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
“प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ,” थापाले भने ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा अरुण सायमी नेतृत्वको टोली खटिएको छ ।
“एपेन्डिक्सको अपरेशन गरिएको हो,” उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीको सफल उपचार हुँदैछ । उहाँ अझै केही दिन अस्पतालमै बस्नुहुनेछ ।
हाम्रो चाहना पनि प्रधानमन्त्री भित्रि मनदेखि तयार भएपछि जानुहुन्छ । हामीले २-३ दिन भिजिटरलाई भेट्न दिँदैनौं ।”
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् ।