२० वर्षपछिको १३ औं सागः आजबाट भलिबल प्रतिस्पर्धा सुरु,उद्घाटन आइतबार
-
मंसिर ११,२०७६ काठमाडौं ।
२० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।
करिब पाँच दिन बाँकी भए पनि खेल प्रतिस्पर्धाबाट भने नेपालले आज बुधबारबाट सुरुआत गर्नेछ। नेपालको महिला भलिबलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्दा उक्त खेल यस सागको पहिलो प्रतिस्पर्धा हुनेछ। नेपालले महिला भलिबलमा बंगलादेशसँग खेलेपछि १३औं सागको प्रतिस्पर्धा सुरु हुनेछ।
बुधबार पुरुष भलिबल भने पाँच बजेदेखि सुरु हुनेछ। भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन्। साग खेल्ने सात राष्ट्रमध्ये भलिबलको पुरुष र महिला दुवैमा ६ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन्।
बुधबार दिउँसो तीन बजे महिला भलिबलको उद्घाटन खेल हुनेछ। पुरुष भलिबलमा पनि नेपालले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ ।
एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन।
दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रनेछ। नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ उत्रँदै छ। नेपालकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन्।
माल्दिभ्सविरुद्ध सोझो सेटमा सफलता निकाल्दै च्याम्पियन बनेको नेपालले पहिलो पटक भलिबलमा स्वर्ण पदक चुमेको हो। सागमा भने नेपालको महिला भलिबलले तीन कांस्य जितेको छ।
नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको औपचारिक उद्घाटन मंसिर १५ गते ९आइतबार० राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।
उक्त उद्घाटन समारोहका लागि आयोजक नेपालले मंगलबारदेखि दशरथ रंगशालामा डेमोस्ट्रेसनसमेत सुरु गरेको छ। सागको उद्घाटनका अवसरमा विभागीय टोली र अन्यको तर्पmबाट हुने सांस्कृतिक कार्यक्रमको पनि मंगलबारदेखि डेमोन्सट्रेसन सुरु भएको छ। उद्घाटन समारोह ३ घण्टा १४ मिनेटको हुनेछ।