दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपाली महिला भलिबल टिमले जितका साथ प्रतियोगिता सुरु गरेको छ ।
बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा बंगलादेशलाई २५-९ ले पराजित गर्यो ।
दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखि नै अग्रता बनायो । नेपालले एक समय १२–५ को अग्रता बनाएको थियो । त्यसपछि २०-५ ले अगाडि रहेको नेपालले त्यसलाई कायमै राख्दै २२–५ को अग्रता बनायो ।
नेपालसामु निकै कमजोर देखिएको बंगलादेशले त्यसपछि स्कोरबोर्डमा चार स्कोर जोड्दा नेपालले सेट २५-९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटको सुरुवातमा बंगलादेशले केही प्रतिस्पर्धात्मक खेल देखाए पनि त्यो धेरै बेर टिक्न सकेन । र अन्तिममा नेपालले २५-११ ले सेट आफ्नो पक्षमा पार्यो ।
जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।