साग सञ्चालन र व्यवस्थापनको सबै तयारी पूरा :
साग उद्घाटन भव्य र सभ्य हुने छःखेलकुदमन्त्री विश्वकर्मा
-
मंसिर १२,२०७६ काठमाडौं ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् ।
उनले भने,‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’
मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यस्त रहेको पनि जानकार िदिए ।
१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ ।
साग खेलका केही खेलहरु बुधबारबाटै सुरु भैसकेको पनि उनले जनाए ।
महिला र पुरुष भलिवलका खेलहरु सुरु भैसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो ।’–उनले भने ।
यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए ।
उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए ।
उनले उद्घाटन समारोहमा कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे ।
सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पहुनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको छ ।
सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए ।
दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए ।
उनले भने,‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’
साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाँसिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।
सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक परिचालन र सुरक्षाको प्रवन्ध कडा पारिएको पनि उनले स्पष्ट पारे ।