प्रधानमन्त्री ओलीको स्वास्थ्य खतरामुक्त:अप्रेसनका क्रममा दुई पटक डायलासिस
-
मंसिर १३,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकहरुले जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा दिब्या सिंह शाहले जानकारी दिइन् ।
उपचारमा संलग्न डा.रमेश सिंह भण्डारीले संक्रमण पेटभरी फैलिएको र समयमै सबै हेरेर चाँडै अप्रेसनको निर्णय लिएको जनाए । अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको समेत पनि उनले बताए ।
पत्रकार सम्मेलनमा अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको पनि जानकारी गराईएको छ ।
प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल मिर्गौलाले राम्रोसँग काम नगरेपछि प्रधानमन्त्रीले डायलासिस गर्दै आएका छन ।
एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको पनि जानकारी दिईएको छ ।
उनकाअनुसार प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ ।
एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जाने निजि डा.शाहले जानकारी दिईन ।