१३ औं सागःस्वरुप फेरिएको रंगशाला !
साग उद्घाटनमा १५ करोड खर्च अनुमान,५ सयले घन्काउनेछन मौलिक बाजा !
-
मंसिर १४, २०७६ काठमाडौं ।
दशरथ रंगशाला यतिबेला दुहली घरजस्तै सजिएको छ । पुनर्निर्माणले रूप फेरिएको रंगशाला धपक्क बलेको छ ।
चारैतर्फ प्यारापिटमा छानो हालिएको छ । रंगीविरंगी कुर्सी, अनि मैदानको हरियो दुबोमा फ्लडलाइटको प्रकाश छरिँदा यो हाम्रै देशको रंगशाला हो भन्न पाउँदा पनि आनन्द लाग्छ । हो, यही रंगशालामा आइतबार भव्य समारोह हुनेछ-दक्षिण एसियाली खेलकुद १३ औं संस्करणको उद्घाटन ।
नेपाली मौलिकता प्रस्तुत हुनेछ । प्रकृति र संस्कृतिको धनी देश भनेर चिनाउनेछौं,’ समारोह समितिका निर्देशक कुलबहादुर थापाले भने,हेरौं–हेरौं लाग्ने बनाएका छौं उद्घाटन समारोह ।’
पदकको हाम्रो हिसाबमा नभए पनि नेपाल दक्षिण एसियाली खेलकुदको संस्थापक भएकाले नेपालकै अगुवाइमा साग अगाडि बढिरहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशासन प्रमुख रहेका निर्देशक थापाले भने, नेपालले सधैं यसको नेतृत्व गर्दै आएको छ । उद्घाटनमा हामीले यही कुरा भन्न र देखाउन खोजेका छौं ।’
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति रहने छ ।
थापाको जिम्मेवारी उनीहरूलाई नै निर्देश गर्नु हो । उद्घाटन समारोह सागको ऐना हो । उनी यसैलाई प्रस्तुत गर्न अन्तिम चरणमा छन् । शुक्रबार उद्घाटन समारोहको ग्रान्ड रिहर्सलपछि उनी अझै हौसिएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल समारोह समितिका संयोजक हुन् । उद्घाटनमा सशस्त्रकै सबैभन्दा बढी ४ हजार ५ सयले प्रस्तुति दिनेछन् ।
त्यसबाहेक सेनाका १ हजार ५ सय, प्रहरीका १ हजार, विद्यार्थी ३ हजार, झाँकी समूहका ४ हजार, व्यावसायिक कलाकार ३ सयलगायत आइतबार दशरथ रंगशालाको साग उद्घाटन समारोहमा आफ्नो कला प्रस्तुत गर्ने प्रदर्शनकारी हुन् । त्यसबाहेक १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।
मार्चपासबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता, स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजीका साथ उद्घाटन समारोह सम्पन्न हुनेछ ।
त्यसमा लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक प्रदर्शन गरिनेछ । थापाका अनुसार समापनमा ड्रोनबाट आकाशमा प्रस्तुति देखाइने छ । ‘नेपालमा टेक्नोलोजीको ठूलो बजार छ भनेर विशेष गरी युवालाई देखाउन खोजिएको छ, ड्रोन प्रयोग गर्न विदेशी पनि प्रयोग गरिएको छ,’ शुक्रबार दशरथ रंगशालामा ग्रान्ड रिहर्सल गर्दै उनले भने, नेपाली परम्परागत बाजाहरू विश्वकै उत्कृष्ट हुन् । हाम्रो मौलिक बाजालाई ५ सय जनाले घन्काउने छन् ।’
कुल तीन घण्टाको उद्घाटन समारोहमा नेपाली मौलिक बाजाको प्रस्तुति २१ मिनेटको रहनेछ । राष्ट्रपतिको आगमनसँगै मार्चपास हुनेछ । मार्चपासमा नेपालबाट १३ औं सागमा खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले झन्डा बोक्ने सम्भावना प्रबल छ ।
यद्यपि यसलाई राखेपले स्वीकृत गरिनसकेको थापा बताउँछन् । ओलम्पियन दीपक विष्टले ओलम्पिक फ्लेम बाल्ने छन् । एकजना अनुभवीलाई जजका तर्फबाट शपथग्रहण गराइने छ ।
मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने छन् । सातै प्रदेशको प्रतिनिधित्व गर्दै स्वागत नृत्य प्रस्तुति उद्घाटन समारोहमा समावेश छन् ।
ब्यान्ड प्रदर्शन सागकै अहिलेसम्मकै ठूलो हुने थापाको दाबी छ । त्यसमा सात सय जनाको प्रस्तुति रहनेछ । ७७ जिल्लाका प्रतिनिधिलाई काजमा झिकाइएको छ । थापा देशका सबै भेगको उद्घाटनमा प्रतिनिधित्व हुने बताउँछन् । उनी भन्छन्, सबैले गर्व गर्ने खालको उद्घाटन समारोह हुनेछ । यसलाई हामीले एसियाली स्तरकै बनाउने प्रयास गरेका छौं । खर्च पनि हेर्नुपरेको छ ।’
उद्घाटनलाई १५ करोडसम्म खर्च हुने सम्भावना छ । सबैको सहयोगका कारण खर्च आधा घटेको उनी सुनाउँछन् । सुरक्षा निकाय र विद्यालयका विद्यार्थीले निस्शुल्क उद्घाटनमा प्रस्तुति दिन लागेका हुन् ।
१३ औं सागमा २८ खेल(बिच भलिबल र थ्रीबाईथ्री बास्केटबलसहित) मा दक्षिण एसियाका सात देशका तीन हजार जनाभन्दा बढी खेलाडीले भाग लिने छन् । नेपालले सबै खेलमा भाग लिँदै छ । कान्तिपुर दैनिक