औषधी ब्यबस्था विभागको काम कारवाहीमा ढिलासुस्ती
-
काठमाडौं । औषधी व्यवस्था विभागले विदेशी कम्पनीबाट उत्पादित भिटामिनजन्य खाद्य बस्तुहरुको अनुगमनलाई तिव्रता दिएको छ ।
खाद्यजन्य बस्तुहरु औषधी पसलबाट बेच्न नपाइने भएकोले अनुगमनलाई तिव्रता दिइएको विभागले जनाएको छ । यी भिटामिनजन्य वस्तुहरु चर्को मुल्यमा कमिसन खाएर विक्री भइरहेको उपभोक्ताले पटक–पटक गुनासो गरेका छन् ।
त्यसैगरि, विभागले औषधि उत्पादन गर्ने २३ विदेशी कम्पनीको जिएमपी अडिटको रिपोर्ट सार्वजनिक गरेको छ । बंगलादेशका ३ वटा , १४ वटा भारतीय कम्पनी , ३ वटा भियतनामका कम्पनी संगै युक्रेन ,जोर्डन र फिलिपिन्सका ३ वटा कम्पनीको अडिट मिति ०७६ कार्तिक २८ को निर्णय अनुसार आफ्नै वेवसाइट मार्फत विभागले सार्वजनिक गरेको हो ।
धेरै परेका निवेदन मध्ये २३ वटा कम्पनीको मात्र अनुगमन गरिएको स्रोतले जनायो । सबै निवेदनको अनुगमन गर्नुपर्ने सम्बन्धित कम्पनीका आयातकर्ताहरुको गुनासो छ । बिभागले निवेदन परेका सबै कम्पनीको अनुगमन निरिक्षण नगरेको स्रोतले बतायो । बिभागका कर्मचारीले निश्चित आयातकर्ताले पेश गरेका निवेदनमा मात्र अनुगमन गर्दा अन्य कम्पनी मर्कामा परेका बिषय बाहिर आएको हो । यो गुनासोलाई बिभागले वेवास्ता गर्दा बिभाग भित्र लेनदेनको चलखेल भएको होकि भन्ने आशंका स्रोतको दावी छ ।
तर, विभागले आयातकर्ताहरुको गुनासो झुठा भएको जिकिर गरेको छ । विभागका प्रवक्ता सन्तोष केसीले अनुगमन भइरहेको र यसमा कुनै भेदभाव नभएको दावी गरे । हामी सेवाग्राहीको सेवामा निकै सचेत छौं, उनले भने,‘विभागका कमिकमजोरी संच्याएर जान तयार छौं ।’ केहि महिनादेखि २३ वटा विदेशी कम्पनीका औषधी र भिटामिनजन्य खाद्यबस्तु अनुगमन भइरहेको उनले जानकारी दिए ।
तर, विभागमा जाने सेवाग्राहीहरुले फाइल हराएको, समयमा काम नगरिदिने, काममा ढिलाई, दर्ता भइसकेका फाइल नभेटिने समस्या रहेको गुनासो गर्दे आएका छन् । कर्मचारीबाट सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ । तर, प्रवक्ता केसीले भने त्यस्तो कुनै कमजोरी भए सुधार गर्ने प्रतिबद्धता जनाए ।