Trending :
 

१३ औं सागः ३१७ स्वर्णका लागि ५९४ नेपाली खेलाडी प्रतिस्पर्धामा

मंसिर १५,२०७६

-

मंसिर १५,२०७६ काठमाडौं ।
१३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) को आइतबारदेखी औपचारिक सुरुवात हुदै छ ।
 
सागको साझ दशरथ रङ्गशालामा भव्य समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै छिन् ।
 
तीन घण्टा बढि अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मागनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।
 
उद्घाटनका अवसरमा सातै देशको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । 
 
प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार नै भएको छ ।
 
काठमाडौँ, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताए ।
 
दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकुद उत्सवको रुपमा लिने गरिएको छ । 
 
सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
 
तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ नेपाली खेलाडीको सहभागिता रहेको जानकारी दिए । सागलाई सफल बनाउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ ।
 
सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 
 
सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । 
 
प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछन ।
 
१३ औँ सागका लागि ३१७ स्वर्ण पदक, सोही संख्यामा रजत र ४८१ कास्य पदक कायम गरिएको छ ।
 
सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
 
प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।