१३ औ सागः नेपाललाई ६ स्वर्ण पदक प्राप्त
-
मंसिर १६,२०७६ काठमाडौं ।
१३ औं साग अन्तरर्गत भएका विभिन्न खेलमा नेपालले चार स्वर्ण पदक हात पार्न सफल भएको छ ।
सोमबार भएको कराँते, ट्रायथोलन र तेक्वान्दोमा नेपालले चार स्वर्ण पदक प्राप्त गरेको हो ।
१३ औं सागको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले २५.७२ अङ्क जोड्दै पहिलो स्वर्ण पदक दिलाएका हुन । नेपालका लागि करातेका मण्डेकाजी श्रेष्ठले एकल काता र टिम कातामा गरी दुई स्वर्ण जिते ।
सातदोबाटोस्थित कराँते हलमा भएको खेलमा पाकिस्तानका खेलाडी निएमातुल्हालाई श्रेष्ठले पराजित गरे । पाकिस्तानका खेलाडी निएमातुल्हाले २४.९२ अङ्क जोड्दै रजत पदक हात पारेका छन ।
महिला कातामा पनि स्वर्ण पदक
यस्तै साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ ।
नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की थिए ।
समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।
त्यस्तै महिला एकल कातामा भने नेपालकी चेली चञ्चला दनुवारले रजत पदक जितेकी छन् । उनी फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित भईन । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोडिन भने साहिदाले २४.६२ अङ्क जोडिन ।
ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक
पोखरामा सोमबार नै भएकोे ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।
फेवातालमा भएको महिला इभेन्टतर्फको ७५० मिटर पौडी तथा २० किलोमिटर साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन ।
नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशका छ जना प्रतिपस्र्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारिन ।
प्रतियोगिताको पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनीमलले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३१ सकेण्डमा पार गरी स्वर्ण पदक दिलाए ।
भारतकै विश्वरिज्टी साइकमले एक घण्टा दुई मिनेट ५९ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।
नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट छ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक प्राप्त गरे ।
तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक
साग अन्तर्गत तेक्वान्दो खेलमा पनि नेपालले स्वर्ण पदक हात पार्न सफल भएको छ ।
नेपालका कमल श्रेष्ठले स्वर्ण दिलाएका हुन ।
पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।
कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जिते भने पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याए ।
सोही स्पर्धामा ८.०६० अङ्क ल्याउदै श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारे ।
यस्तै सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ स्वर्ण जितेकी छिन् । यससँगै नेपालले सागमा पाँच स्वर्ण पदक जितेको छ । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।
सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।
जारी साग खेलकूदमा ट्रायथोलन, डाइथोलन र मिक्स इभेण्टमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । मङ्गलबार डाइथोलन र बुधबार रिले इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।