Trending :
 

च्याम्पियन्स ट्रफीः श्रीलंकालाई पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा

जेठ ३०,२०७४

-

जेठ ३० –

इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पाकिस्तानले पनि आफ्नो स्थान पक्का गरेको छ । सोमबार राति भएको लिगको अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।

कार्डिफमा पाकिस्तानले टस जितेर पहिले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा श्रीलंकाले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रनको सामान्य योगफल मात्र बनाउन सक्यो । श्रीलंकाले दिएको २३७ रनको सामान्य लक्ष्य पाकिस्तानले ४४ ओभर ५ बलमा ७  विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा कप्तान सर्फराज अहमद नायक बने । अहमदले ७९ बलमा अविजित ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै पाकिस्तानका फखर जमानले अर्धशतकीय ५० रनको योगदान दिदा अजहर अलिले ३४,  मोहम्मद आमिरले अविजित २८ रन बनाए । श्रीलंकाका नुवान प्रदीपले तीन तथा लसिथ मालिङ्गा, सुरङ्गा लकमाल र थिसारा परेराले एक एक विकेट लिएपनि  टोलीलाई जित दिलाउन सकेनन् । 

यसअघि ब्याटिंग गरेको श्रीलंकाका लागि ओपनर निरोसान डिकवेलाले सर्वाधिक ७३ अर्धशतकीय पारी खेल्दा कप्तान एन्जेलो म्याथ्युजले ३९ रन बनाए । । त्यस्तै कुशल मेन्डिस र एसेला गुणारत्नेले समान २७ – २७ रन तथा सुरङ्गा लकमालले २६ रन बनाए । श्रीलंकालाई सामान्य रनमा रोक्न हसन अली र जुनैद खानले ३-३ तथा मोहम्मद आमिर फहिम अस्रफले २-२ विकेट लिए ।

श्रीलंकामाथिको जितसँगै समूह ‘बी’ मा रहेको पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । जितपछि पाकिस्तानले ३ खेलबाट ४ अंक जोड्यो । यसअघि नै भारत समूह ‘बी’बाट ३ खेल खेल्दै ४ अंक जोडेर समूह विजेता बनिसकेको छ । अब पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार आयोजक इंग्ल्यान्डको सामना गर्ने छ । यस्तै दोस्रो सेमिफाइनलमा बिहीबार साबिकको बिजेता भारतले बंगलादेशसँग खेल्ने छ ।