नेपालमै बन्छ केराको ४० भन्दा बढी परिकार,मःमः,चिप्स देखि समोसासम्म !
-
मंसिर १७, २०७६ काठमाडौं
इलामको रोङ गाउँपालिका-६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ ।
गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थाल्नुभएको छ ।
हाल बजारमा केराको परिकार ग्राहकले कत्तिको मन पराउँछन् भनेर विभिन्न मेला र महोत्सवसमेत आयोजना गरिसक्नुभएका राईले अब केराको मात्र परिकार बनाउने गरी रु पाँच लाखको लगानीमा गाउँमै रेष्टुरेन्ट सञ्चालनको तयारी गर्नुुभएको छ ।
“एकपटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरु आएको हुनुपर्छ ।”, उहाँले भन्नुभयो । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।
अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ ।
यही मङ्सिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोशेलीको रुपमा लैजानेसमेत गर्नुभएको छ । महोत्सवमा घुम्न आउनुभएका झापाका दिपीन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताउनुभयो ।
केरा मानिसको शरीरलाई आवश्यक र पौष्टिक आहारको रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकको रूपमा लिइन्छ ।
यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पु¥याउने विज्ञहरुको भनाइ छ । रासस