चितवन निकुञ्जमा पर्यटक बढे
-
मंसिर १७,२०७६ काठमाडौं ।
गत वर्षको तुलनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढेको छ ।
गत वर्षको यसै अवधिको भन्दा यो वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताए ।
तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो सङ्ख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।
वृद्धि भएको पर्यटकमध्ये नेपालीको सङ्ख्या बढी छ । गत वर्ष यस अवधिमा नौ हजार ८५५, सार्क मुलुकका पाँच हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए ।
यो वर्ष नेपालीको संख्या २४ हजार ४३५, सार्क मुलुकका छ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् जसमध्ये नेपालीको सङ्ख्या गत वर्षभन्दा १४ हजार ५८० ले वृद्धि भएको छ ।
विदेशीको सङ्ख्या एक हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक एक हजार १९६ ले बढेको छ ।
नेपालीको सङ्ख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा एक लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।
यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको सङ्ख्यामा निकै गिरावट आएको थियो ।
आव २०७१/०७२ मा एक लाख ७८ हजार २५७ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च सङ्ख्या हो ।
रबसस