Trending :
 

यमनविरुद्ध मैदानमा उत्रिँदै नेपाल

जेठ ३०,२०७४

-

जेठ ३० -

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ । समूह एफमा अंकबिहीन रहेको नेपालले आज यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्नेछ ।

यमनसँगको खेलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरिसकेको छ  । एन्फाले २३ सदसीय नेपाली टोलीको घोषणा सोमबार गरेको हो र आज हुने खेलमा नेपाल बलियो यमनलाई पराजित गर्दै अंक खोस्ने योजनाका साथ मैदान उत्रनेछ ।

नेपाल यमनसँगको यसअघिका दुई भेटमा पराजित भएको छ । नेपाल पछिल्लोपटक सन् २०१४ मा दुबईमा भएको भएको मैत्रीपूर्ण खेलमा यमनसँग २ – ० ले पराजित भएको थियो  । यस्तै फिफा वरियतामा पनि नेपाल यमनभन्दा ४५ औं स्थान तल  छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज ग्योतोकी कोजीले यमन बलियो भएपनि नेपालले भएका खेलाडीबाट सक्ने जति च्यालेन्ज दिने बताए ।

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । यता, यमनले भने ताजकिस्तानलाई २ – १ ले हराएको थियो ।