मुस्ताङमा स्याउ बिक्रिबाट ६० करोडभन्दा बढी आम्दानी
-
मंसिर २०,२०७६ काठमाडौं ।
मुस्ताङबाट यो वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् ।
जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।
जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
सात सय हेक्टरमा उत्पादन हुने गर्छ । कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यो वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क छ ।
खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको जनाईएको छ ।
गत वर्षको तुलनामा दश प्रतिशतले स्याउ उत्पादन बढेको छ ।
प्रतिकेजी स्याउको मूल्य रु १ सय २० रहे पनि अधिकांश कृषकले बगैँचामा नै ठेक्कामा बिक्री गरेका थिए ।
मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।
म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ ।
स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् ।
बजार बढ्दै गएपछि स्थानिय कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ । रासस