साग म्याराथनका लागि शनिबार मुख्य सडक क्षेत्रमा सवारी नचलाउन आग्रह
-
मंसिर २०,२०७६ काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी नचलाउन महाशाखाले सूचना जारी गरेको छ ।
म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।
उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ।
यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।