Trending :
 

१३ औं सागः सातौं दिन आज १८ खेलमा प्रतिस्पर्धा हुँदै

मंसिर २१,२०७६

-

मंसिर २१,२०७६ काठमाडौं ।
 १३ औं सागको सातौं दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
 
सागको सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।
 
आज आर्चरी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, साइक्लिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, बक्सिङ, फेन्सीङ, स्क्वास र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
 
महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, आर्चरी, ह्यान्डबल र बिच भलिबल, पोखरामा हुँदैछ भने, कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।
 
खेल दिउँसो साढे एक बजे हुनेछ । यस्तै साँझ साढे पाँच बजे हुने अर्को खेलमा श्रीलंकासँग भुटानले प्रतिस्पर्धा गर्ने छ । महिलातर्फको फुटबल नेपाल र भारतबीच दिउँसो ४ बजे पोखरा रंगशालामा हुनेछ । पुरुष क्रिकेटमा नेपालले बंगलादेशको यू–२३ टिमको सामना गर्नेछ ।
 
टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । यस्तै ११ बजे सुरु हुने स्पर्धामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्न लागेको हो ।
 
त्यसैगरी बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।