जेठ ३०,२०७४
-
जेठ ३० -
छिन्नलता गीत पुरस्कार गुठीले २०७३ को छिन्नलता गीत पुरस्कार गीत रचना, गायन, सङ्गीत विधामा चार स्रष्टा र छिन्नलता विशेष सम्मान दुई स्रष्टालाई सम्मानित गर्ने भएको छ ।
गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सोमबार बसेको बैठकले छिन्नलता गीत पुरस्कार गीत रचनामा धनेन्द्र विमल, गायनमा शिशिर योगी र सङ्गीतमा टीका भण्डारी तथा युवा नवप्रतिभामा मीना पोख्रेल निरौलालाई अर्पण गर्ने निर्णय गरेको हो ।
ती पुरस्कारको राशि जनही ५० हजार र सम्मानपत्र रहेको छ भने नवप्रतिभा पुरस्कारको राशि ३५ हजारसहित सम्मानपत्र रहेको छ। यसैगरी, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई अर्पण गर्ने निर्णय भएको गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए। ती सम्मानमा जनही ५० हजार नगद राशी रहेको छ ।
वि. सं २०३९ मा स्थापित सो गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुर्याए वाफत हरेक वर्ष छिन्नलता पुरस्कार र सम्मान अर्पण गर्दै आएको छ।
गुठीका संस्थापक एवम् गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिको अवसर पारेर असार २० गते पुरस्कार र सम्मान वितरण गरिने सहकोषाध्यक्ष ढुङ्गानाले जानकारी दिए।
प्रमुख समाचार