Trending :
 

१३ औं ‘साग’को समापन गरिंदै :

उपत्यकामा मंगलबार जोर नम्बरका सवारी मात्रै चलाउन आग्रह

मंसिर २४,२०७६

-

मंसिर २४,२०७६ काठमाडौं ।
 
१३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज(मंगलबार)हुने समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौ उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।
 
आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ । ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ ।
 
ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ । साथै कम भन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ ।
 
यता, १३औं साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ । यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ ।
 
मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
 
उनले मंगलबारै नै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए ।
 
उनले करिब डेढ घन्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए । उद्घाटन भव्य भएजस्तै समापन अझ सशक्त हुने दाबी उनले गरे ।