चार परियोजनाका लागि एडीबीले दियो ३५ करोड अमेरिकी डलर
-
मंसिर २४,२०७६ काठमाडौं ।
एशियाली विकास बैङ्क (एडीबी) ले नेपाल सरकारलाई ३५ करोड डलर (३५८ मिलियन डलर) आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।
उक्त सहयोग सडक पूर्वाधार विकाससहित कृषि परियोजना, खाद्य सुरक्षा तथा बागमती नदी सरसफाइ अभियानसहित चार परियोजनाका लागि एडीबीले ऋण सहयोग गर्न लागेको हो ।
मङ्गलबार अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर मुख्खटर खमुडीखानोव र नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव राजन खनालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रमुखतः एडीबीको सहयोग मुग्लिन–पोखरा राजमार्ग सडक स्तरोन्नतीका लागि गरिएको हो । कुल ऋणको ५४ दशमलव ४७ प्रतिशत अर्थात् एक सय ९५ मिलियन अमेरिकी डलर मुग्लिन–पोखरा राजमार्ग स्तरोन्नतिमा खर्च गरिने छ ।
बाँकी ६३ मिलियन डलर ऋण बाढी पहिरोजस्ता विपत् व्यवस्थापन र बागमती नदी सरसफाईका लागि, ५० मिलियन डलर साना किसान विकास कार्यक्रमका लागि र ५० मिलियन डलर खाद्य सुरक्षा तथा कृषि परियोजनाका लागि खर्च गरिने जनाएको छ ।
एडीबीका कन्ट्री डाइरेक्टर मुख्खटरले नेपालको वृद्धि विकासमा एडीबी सधैँ सकारात्मक रहेको बताउँदै ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ को कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, यस्तो सहयोग आउँदा दिनहरुमा समेत जारी राख्ने जनाए ।