Trending :
 

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

मंसिर २५,२०७६

-

 
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
 
आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।
 
प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् । 
 
मङ्सिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । मङ्सिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ ।
 
मङ्सिर ३० गते पोखरा पल्टन र चितवन राइनोज स्पर्धामा उत्रिनेछन् भने  पुस १ गते काठमाडौँ गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच स्पर्धा हुने खेल तालिका छ । पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।
 
पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स आमनेसामने हुनेछन् । पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् ।
 
पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुस ७ गते चितवन राइनोज र काठमाडौँ गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।
 
पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ । सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । 
 
गत वर्ष विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु १० लाख प्राप्त गरेको थियो । आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन ।