मङ्सिर २९ देखी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने
-
मंसिर २६,२०७६ काठमाडौं ।
नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
यही मङ्सिर २९ गतेदेखि सेनाले प्रतियोगिताको सातौँ संस्करण काठमाडौंमा गर्न लागेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने छन् ।
महासेनानी शशिकिरण रायमाझीले बिहिबार भएको पत्रकार सम्मेलनमा ‘लिगकम नकआउट’का आधारमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिने पनि उनले जनाए ।
सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ ।
प्रतियोगिताको उदटन खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता पुस ९ गतेसम्म चल्नेछ ।