वैदेशिक रोजगारीमा गएका ७ हजार ४५५ नेपाली कामदारको मृत्यु

मंसिर २८,२०७६

-

मंसिर २८,२०७६ काठमाडौं ।
पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झण्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् । 
वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म आइपुग्दा सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । 
सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् । 
बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् ।
 
आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका हुन् । 
यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ । 
 
सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् ।
 
मुख्यरुपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । 
स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । 
दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ ।
 
केही मृत्युका कारण अझैसम्म खुल्न सकेका छैनन् । विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ ।
 
आप्रवासी कामदारको अधिकारलाई प्रमुखताका साथ उठाइरहँदा कामदारको स्वास्थ्यसम्बन्धी विषय पछिल्लो समय ओझेलमा परेको छ ।
 
आप्रवासी कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका क्षेत्रमा स्रोत तथा गन्तव्य मुलुकले उचित ध्यान दिन सकेका छैनन् । 
 
व्यवसायजन्य सुरक्षा नअपनाउँदा ठूलो सङ्ख्यामा नेपाली कामदारले कार्यस्थलमै ज्यान गुमाउनु परेको छ । 
सामान्य सुरक्षात्मक उपाय नअपनाउँदा सामान्यदेखि दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालेको छ ।
 
मानसिक तथा अर्बुद रोग, मिर्गौलामा खराबी, प्रजनन क्षमतामा ह्रासलगायत गम्भीर प्रकारका स्वास्थ्य समस्या नेपाली कामदारले भोग्दै आएका छन् । 
 
आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ । 
नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
 
संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ ।
 
आप्रवासी कामदार सप्ताहको अवसर पारेर शनिबार नेपाल स्वास्थ्य व्यवसायी सङ्घले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 
 
शिविरमा रगत परीक्षण तथा रक्तचाप परीक्षणका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श प्रदान गरिएको सङ्घका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिनुभयो । 
विदेशमा रहेका नेपालीले स्वस्थ्य रहन के गर्ने ?
 
सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ । 
 
कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ ।
 
दिनभर चर्को गर्मीमा काम गर्ने र साँझ ‘एयर कन्डिशन’ चलाएर सुत्दा झन् जोखिम बढ्ने सङ्घका महासचिव जय गुरुङ बताउनुहुन्छ । 
 
उहाँले कम्तीमा पनि दैनिक छ लिटरभन्दा बढी पानी पिउनुपर्ने बताउनुभयो । काम गर्दा प्रत्येक दुई÷दुई घण्टामा केही समय विश्राम लिनु आवश्यक हुन्छ । 
रासस