Trending :
 

अमेरिकी वस्तुमा लगाउने भनिएको करवृद्धि योजना चीनद्वारा स्थगित

मंसिर २९,२०७६

-

मंसिर २९,२०७६ काठमाडौं ।
चीनले आइतबारदेखि लागू हुनेगरी अमेरिकी वस्तुमा लगाउने भनेको करवृद्धि योजना स्थगित गरेको जनाएको छ । 
 
चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो । 
 
चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना यसअघि प्रस्ताव गरेको थियो ।
 
 “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ,” चिनियाँ अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रथम चरण”को व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए । 
 
चीनको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकासँग एउटा सम्झौतामा सहमति भएको र त्यसमा करवृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख रहेको स्पष्ट गरेको छ । 
 
तथापी, दुबै पक्षले यो सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ । 
 
विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए ।
 
जसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू समावेश थिए ।
 
अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो ।
 
यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले करवृद्धि प्रस्ताव स्थगित गरेको हो । रासस