एउटै बोटको सुन्तला विक्रिबाट २७ हजार आम्दानी !
-
पुस २,२०७६ काठमाडौं ।
बांगलुङमा एउटा बोटमा फलेको सुन्तला विक्रिबाट किसानले २७ हजार रुपैया आम्दानी गरेका छन् ।
बागलुङ नगरपालिका-८ सिगानाका टोपबहादुर खड्काले ३९ वर्षअघि चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएर रोपेको बोटमा यसपाली ४५० किलो सुन्तला फलेको हो ।
गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले २७ हजार कमाएको खड्काले बताए ।
बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन-चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो” खड्काले भने, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”
दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उनको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुप¥यो, केही बोटका त हाँगै भाँचिए”, खड्काल भने, रेखदेखमा पनि ध्यान दिएको थिए ।”
खड्काले २०३७ सालमा एक सय बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गरेका थिए ।
उनको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताए ।
सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुने गरेको उनले बताए ।
गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ ।
वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती गरिएको छ ।
वडाले किसानलाई वर्षेनी निःशुल्करुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ ।
वडास्तरीय कृषि समितिले यो वर्ष रु दुई करोड बराबरको सुन्तला निर्यात हुने आकलन गरेको छ । रासस