अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसःसुरक्षालाई ध्यान दिन सुझाव
-
पुस २,२०७६ काठमाडौं ।
नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण भएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ ।
सरकारको समन्वयमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा तयार पारिएको अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।
सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन र बसाइँसराइलाई विकास योजनामा मूलप्रवाहीकरण गर्ने ध्येयले अभिलेख तयार गरिएको आइओएमले जनाएको छ ।
अभिलेखमा बसाइँसराइका प्रकार, विशेषतासम्बन्धी तथ्याङ्कीय स्रोतको पहिचान गरी तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ ।
चार भागमा विभाजित अभिलेखको पहिलो भागमा बसाइँसराइको प्रवृत्तिको तथ्याङ्क र विश्लेषण, दोस्रो भागमा बसाइँसराइले आर्थिक-सामाजिक तथा विकासका मुख्य सूचकमा परेको असर, तेस्रो भागमा बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीतिनिर्माताका लागि सुझाव दिइएको छ ।
मन्त्री यादवले श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजागरीमा पठाउने नीति लिइएको बताउँदै विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने जानकारी दिए ।
वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनको भनाई छ ।
नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै बसाइँसराइ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा पैरवी गर्न सहयोग पुग्ने बताए ।
करिव पाँच लाख युवाले बैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गरेको तथ्याङ्क रहेको छ ।
गरिबी, बेरोजगारीलगायत कारणले नेपाली युवा विदेश जानुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा झण्डै नौ खर्ब विप्रेषण भित्रिएको थियो ।
आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइ अभिलेख तयार गरिएको बताईन ।