अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २ सय ३० मत
-
पुस ३,२०७६ काठमाडौं ।
चार सय ३५ सदस्यीय रहेको तल्लो सदनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लागेको छ । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’मा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा दुई सय ३० मत खसेको थियो । यो प्रष्ट बहुमत हो । राष्ट्रपति ट्रम्पको पक्षमा एक सय ९७ मत खसेको थियो । सबै सांसदले पार्टीको निर्णय अनुसार नै मतदान गरेका थिए ।
हाउस तल्लो सदन ‘अफ् रेप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो । त्यहाँ रहेको डेमोक्रेटिक पार्टीका सांसदले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका छन् । भने रिपब्लिकन पार्टीका सांसदले महाभियोगको विपक्षमा मतदान गरेका छन् ।
बहुमतले बहालवाला राष्ट्रपतिलाई महाभियोग लगाउने व्यवस्था, अमेरिकी संविधानको आर्टिकल १ अन्र्तगत सेक्सन २ को क्लज ५ मा उल्लेख छ । सैन्य सहायता बढाउने प्रलोभनसहित युक्रेनमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोय वाइडेनविरुद्ध भष्ट्राचारको छानबिन गर्न दिएको आरोप ट्रम्पमाथि लगाइएको छ ।
यद्यपि ट्रम्प र उनको रिपब्लिकन पार्टीले भने यो विषयलाई राजनीतिकरण गरिएको र आगामी राष्ट्रपतीय चुनावको संभावित हारबाट तर्सिएर महाभियोग प्रसंग ल्याइएको बताउने गरेका छन् ।
मतदान हुनु पहिले दिनभर दुवै पार्टी पक्षधरबीच सदनमा छलफल भएको थियो । अमेरिकाको इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो बहालवाला राष्ट्रपति हुन् । यसअघि सन १८६८ मा एन्ड्रयू जोन्सन र १९९८ मा बिल क्लिन्टनलाई तल्लो सदनले महाअभियोग लगाएको थियो । अब यो मुद्दा अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा प्रवेश गर्नेछ ।
ट्रम्प राष्ट्रपति पदमा रहन्छन् वा रहँदैनन् भन्ने निर्णय सिनेटबाटै हुनेछ । माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य रहेका छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना सदस्य मात्र रहेका छन् । सिनेटमा २ जना स्वतन्त्र सांसद रहेका छन् । माथिल्लो सदनमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सांसद बढी रहेकाले राष्ट्रपतिबाट हटने सम्भावना भने निकै कम छ ।