सामाजिक सुरक्षा योजनाः श्रमिकको खाइपाइ सुविधामा कमी नहुने सरकारको दाबी
-
पुस ३,२०७६ काठमाडौं ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रष्ट पारेको छ ।
योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनबाट श्रमिकको पारिश्रमिक एवं सुविधामा कुनै प्रतिकूल प्रभाव नपर्ने जनाएको छ ।
“श्रम ऐन, २०७४ को दफा ३ मा व्यवस्था भएका विषय न्यूनतम मापदण्डको रुपमा रहने प्रावधान भएको हुँदा हाल खाइपाइ आएको सुविधामा घट्ने प्रश्नै उठ्दैन”, मन्त्रालयका प्रवक्ता डा नाराणय रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रम ऐनको दफा १७८ को उपदफा (३) मा ‘यो ऐन जारी हुँदाको बखत प्रचलित कानून वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा, शर्त र सुविधामा यो ऐनमा उल्लिखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन’ भनी उल्लेख गरिएको छ ।
योजनामा सहभागिताका लागि श्रमिकनै इच्छुक नभएको भन्दै रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सहभागिताका लागि आलटाल गर्दै आएका छन् ।
सरकारले योजनामा सहभागी हुन गत मङ्सिर १४ गतेसम्मका लागि औपचारिक समयावधि तोकेको थियो ।
कोषका अनुसार यही पुस २ गतेसम्म कुल ११ हजार ८५२ रोजगारदाता र एक लाख ३३ हजार १११ श्रमिक सूचीकृत भएका छन् भने २९ करोड ४८ लाख दुई हजार ९७६ रुपैयाँ ८१ पैसा योगदान रकम सङ्कलन भइसकेको छ ।
योजना कार्यान्वयनसँगै रोजगारदातालाई अतिरिक्त भार पर्ने र श्रमिकले खाइपाइ आएको सुविधा घट्ने हल्लाका कारण रोजगारदाता र श्रमिकको उत्साहपूर्ण सहभागिता हुन सकेको छैन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसिसी)का अध्यक्ष विनोद श्रेष्ठ सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएकाले रोजगादाता कुनै पनि हालतमा ‘भाग्न’ नहुने बताउछन् ।
सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधालाई कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषले दिने सुविधासँग तुलना गर्नु युक्तिसङ्गत नभएको मन्त्रालयको दाबी छ ।
सामाजिक सुरक्षा कोष सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिको सहमति एवं सहकार्यमा सञ्चालन हुने गैरनाफामूलक संस्था हो ।
यसबाट प्राप्त हुने सबै प्रतिफल योगदानकर्तालाई मात्र प्रदान गरिन्छ । योगदानकर्ताबाट जम्मा भएको रकम सोही प्रयोजनका लागि मात्र उपयोगी गर्नुपर्ने कानूनी प्रावधान छ ।
सामाजिक सुरक्षा योजनाको सङ्ख्याका आधारमा योगदानको दरमा थपघट वा हेरफेर गर्न सक्ने व्यवस्था रहेकाले यसलाई समयसापेक्ष बनाउन गभीर रहेको मन्त्रालयले जनाएको छ ।
कोषले अहिले चार प्रकारको सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धवस्था सुरक्षा योजना सञ्चालन गरेको छ ।
योजनामा सहभागिताका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम योगदान गर्नुपर्ने व्यवस्था छ ।
योगदान रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनामा ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा २८.३३ प्रतिशत बाँडफाँट हुनेछ ।
प्रवक्ता रेग्मीले योजनामा सहभागी योगदानकर्तालाई दोहोरो करको भार नपरोस् भनेर अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
योजनामा ६० वर्ष कटेपछि मात्र पेन्सन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा कोष कर्जा प्रवाहका लागि स्थापित कोष नभएता पनि योगदानकर्ताको तत्कालको खाँचो टार्न सहयोग पु¥याउने उद्देश्यले कर्जा सुविधा उपलब्ध गराउनका लागि लगानी योजना निर्देशिका तर्जुमाको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
लगानी योजनामा योगदानकर्तालाई धितोमा आधारित घर कर्जा अधिकतम रु एक करोड, शैक्षिक कर्जा रु ३५ लाख र सामाजिक कर्जा रु पाँच लाखसम्म दिन सकिने प्रस्ताव गरिएको छ ।
मन्त्रालयले सम्पूर्ण निजी र सङ्गठित संस्थालाई आफू र आफ्ना श्रमिकलाई कोषमा सूचीकरण गरेर सुविधा उपयोग गरी लाभ लिनसमेत आग्रह गरेको छ ।
मन्त्रालयले सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषय ऐच्छिक नभएको पुनः प्रष्ट पार्दै कोषमा सूचीकरण हुन आलटाल गर्नेलाई कानूनबमोजिम कारबाही हुने जनाएको छ ।
सासस