भारतमा नागरिकता सम्बन्धीको आन्दोलनमा ३ जनाको मृत्यु !
-
पुस ४,२०७६ काठमाडौं ।
भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भन्दै केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको मृत्यु भएको छ ।
राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।
आन्दोलनकारीहरुमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको मृत्यु भएको हो ।
भारतका सञ्चारमाध्यमहरुले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् ।
हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्यामा नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि विपक्षीहरूको समेत तीव्र विरोध भएको छ ।
बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ ।
शुक्रबार पनि विरोध प्रदर्शनहरु जारी रहेको र पछिल्लो केही दिनयता विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको जनाइएको छ । भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको बताइएको छ ।
उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् ।
शुक्रबारसम्म १० वटा प्रदेशमा प्रदर्शन जारी रहेको छ । तर पनि अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेका छन् ।
बेङ्गलुरुमा भने सरकारले कफ्र्यू नै जारी गरेको छ । त्यहा प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो ।
त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् ।
शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी प्राप्त अर्काे एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो ।
प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जना भन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचारहरु आइरहेका छन् ।
तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन भएको बताएका छन् । रासस