Trending :
 

'कार्टुन क्यारिकेचर' आर्ट काउन्सिलमा

जेठ ३१,२०७४

-

जेठ ३१ -

बबरमहलस्थित आर्ट काउन्सिलमा ‘नेपाली कार्टुन क्यारिकेचर २०७४' मंगलबारबाट सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालले कार्यशाला, प्रदर्शनी र प्रतियोगिता आयोजना गरेको हो ।

कार्टुनमा क्यारिकेचरका विषयमा नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यशाला, प्रदर्शनी तथा प्रतियोगितामा २५ कार्टुनिस्ट सहभागी भएका छन् । नेपाली कार्टुनमा क्यारिकेचर पक्ष कमजोर रहेको जनाउँदै क्लबका अध्यक्ष अविन श्रेष्ठले भने, “यो प्रदर्शनीको उद्देश्य नै नेपाली कार्टुनमा परिवर्तन ल्याउनका लागि हो ।”

प्रतियोगितामा नबिन नाल्बोले प्रथम भई १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै राजेश मानन्धरले दोस्रो भई ८ हजार र सुरज शाक्यले तेस्रो भई ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वको क्यारिकेचर बनाइएको छ ।

दुईदिने सो प्रदर्शनीमा प्राडा अभि सुवेदी, अनुराधा कोइराला, सत्यमोहन जोशी, लैनसिंह बाङ्देल, शशी शाह, रागिनी उपाध्याय, महावीर पुन, राजेश हमाल, मनुजबाबु मि श्र, भुवन केसीलगायत करिब चार दर्जन व्यक्तित्वको क्यारिकेचर कोरिएका चित्र प्रदर्शनीमा राखिएको छ । काउन्सिलमा समाजका प्रतिष्ठित व्यक्तिको अनुहारलाई रमाइलोसँग हेर्न सकिन्छ । कार्टुनले व्यंग्यबिना मनोरञ्जन दिएका छन् ।

प्रदर्शनी आज बुधबारसम्म चल्नेछ ।