दिल्लीमा सीमा सम्बन्धी उच्चस्तरीय बैठकः भारत-चीनबीच ९ बुँदे सहमति
-
पुस ६,२०७६ काठमाडौं ।
नेपालका दुई छिमेकी भारत र चीनबीच शनिबार नयाँ दिल्लीमा सीमा सम्बन्धी उच्चस्तरीय बैठक भएको छ । सो बैठकमा भाग लिन चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी नयाँ दिल्ली आएका थिए भने भारतका तर्फबाट बैठकमा नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले नेतृत्व गरेका थिए ।
दुवै देशले सीमा मामिला हेर्नका लागि विशेष प्रतिनिधिस्तरको बैठक नियमित रुपमा गर्दै आएका छन् ।
गएको सेप्टेम्बरमा यो बैठक तय भएकोमा पछि एक्कासी स्थगित भएको थियो । शनिबारको बैठकपछि भारतको विदेश मन्त्रालयले ९ बुँदे वक्तव्य जारी गरेको छ । जसको पहिलो नम्बरमा यो दुई देशको २२ औं चरणको बैठक भएको उल्लेख गरिएको छ । पहिलो बुँदामा दुवै पक्षबाट क-कसले नेतृत्व गरेका थिए भन्ने कुरा उल्लेख गरिएको छ ।
सो वक्तव्यमा जनाइएअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच गएको अक्टोबर २०१९मा भारतको चेन्नईमा भएको दोस्रो अनौपचारिक शिखर सम्मेलनको मार्गनिर्देशन अनुसार दुई पक्षबीच नजिकको विकास साझेदारीलाई रचनात्मक बनाउने कुरामा बैठक केन्द्रित भएको र त्यसपछिका प्रगतिको बारेमा पुनरवलोकन गरिएको जनाइएको छ ।
दुवै देशका विशेष प्रतिनिधिहरुले सीमाको प्रश्नलाई भारत र चीनको रणनीतिक अवधारणामा केन्द्रीत रहेर दुवै देशको आधारभूत चासोलाई सम्बोधन गर्दै समाधान गर्ने कुरामा सहमति जनाएका छन् । दुवै पक्षले सीमा समश्याको समाधान आपसी सहमतिका अनुसार प्रधानमन्त्री मोदी र राष्ट्रपति सीको निर्देशनअनुसार गर्ने कुरामा पनि सहमति जनाएका छन् ।
दुवै पक्षले दुई देशको सबैजसो सम्बन्धको विकासको लागि सीमा क्षेत्रमा शान्ति कायम गर्नु महत्वपूर्ण हुने बताउँदै यसले थाति रहेका सीमाका प्रश्नलाई समाधानको लागि मद्धत गर्ने समेत जनाएका छन् । त्यस्तै, दुवैपक्षले यसका लागि विद्यमान विश्वासको वातावरणलाई निरन्तरता दिनुपर्ने कुरामा समेत जोड दिएका छन् ।
उनीहरुले सीमा क्षेत्रमा सञ्चार आदानप्रदान, सीमा व्यवस्थापन गर्न मद्यत गर्ने र आगामी दिनमा विश्वासको वातावरण कायम राख्ने कुरामा पनि जोड दिएका छन् ।
विशेष प्रतिनिधिहरुले भारत र चीनबीचको स्थिर र सन्तुलित सम्बन्धले यो क्षेत्र र विश्वकै शान्ति र वैभवताका लागि सकारात्मक तत्वको रुपमा काम गर्ने कुरामा पनि आफ्नो धारणा राखेको भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
दुवै पक्षले एक अर्काका संवेदनशीलतालाई सम्मान गर्ने तथा आपसी विश्वास बढाउने कुरामा सहमति जनाउँदै भविश्यमा दुई पक्षीय सम्बन्ध बढाउनका लागि यसको महत्वपूर्ण भूमिका हुने समेत उल्लेख गरेका छन् ।
दुवै विशेष प्रतिनिधिले सो अवसरमा महत्वपूर्ण दुईपक्षीय, क्षेत्रीय र विश्व मामिलाका बारेमा आपसी चासो समेत व्यक्त गरेका थिए । भारत भ्रमणको क्रममा चीनका विदेशमन्त्री वाङ यीले भारतका उपराष्ट्रपति वैंकया नायडुसँगपनि शिष्टाचार भेट गरेका थिए ।
विशेष प्रतिनिधिको अर्को बैठक आपसी सहजताका आधारमा चीनमा हुने समेत वक्तव्यमा जनाइएको छ ।