प्रज्ञा-प्रतिष्ठानले माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव गर्ने

पौष ०९,२०७६

-

पुस ९,२०७६ काठमाडौं ।
 नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ ।  गजल विधाप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले ६२ वर्षको इतिहासमा पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो ।
 
राष्ट्रिय कविता महोत्सव भने प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि आरम्भ गरेको थियो । सो महोत्सव हालसम्म जारी छ ।  
 
राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा माघ १५ र १६ गते प्रज्ञा भवन कमलादीमा गरिने गजल महोत्सवमा सात वटै प्रदेश, राजधानी र भारतका सिक्किम तथा दार्जिलिङबाट गजल विधामा कलम चलाउने स्रष्टाहरूको प्रतिनिधिमूलक सहभागिता रहने गजल महोत्सवका संयोजक तथा प्रज्ञा-प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले बताए ।
 
दुई दिनसम्म चल्ने महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायन समेत हुनेछ ।
 
विशेष गरी युवा पुस्तामाझ लोकप्रिय बनेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गरिन लागिएको हो ।