खडेरी र आन्दोलनका कारण हाइटीमा खाद्यान्न अभाव
-
राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।
विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि हाईटिकोे आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।
विगतमा महिनौँदेखि सरकारका विरुद्धमा प्रदर्शन भएको थियो । विशेषगरी आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा जनाइएको छ । राजनीतिक अस्थिरताकै कारण गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ ।
हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए ।
एक पछिल्लो प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् ।
उनले आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको पनि बताएका छन् ।
प्रतिवेदनले हाइटीको यस खाद्यान्न अभावको समस्या समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ ।
आगामी करिब चार महिनाभित्रै यहाँ कम्तीमा पनि ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने उक्त प्रतिवेदनले औल्याएको छ । सिन्ह्वा