विदेशिने लहड छोडेर भैँसीपालन व्यवसायमा रमाउँदै कर्णालीका युवा

पौष ०९,२०७६

-

पुस ९,२०७६ काठमाडौं ।
पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन । 
 
मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख भोग्नु परिरहेको छ । सपना र श्रम बेचेर रित्तो हातमा फर्कनुपर्ने विवशताले युवा निरुत्साहित बन्दै गएका छन् । 
 
यद्यपि यो जटिल परिवेशमा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका– १० का दुई युवाले रोजगारीकै लागि विदेश जानुपर्छ भन्ने सोच बदल्ने उत्पे्ररणा जगाएका छन् ।  
 
वीरेन्द्रनगर नगरपालिका– १० सुवर्ण शाही र उत्तम उपाध्यायले एक करोड रुपैयाँको लगानीमा विएसयु कृषि फार्म स्थापनागरी यही असारदेखि सञ्चालनमा ल्याएका छन् । 
 
फार्ममा २० दुहुँना भैँसी, २० पाडापाडी र एक राँगा छ । उक्त फार्मबाट दैनिक २ सय लिटर दूध बजारमा निर्यात गर्छ ।  बजारमा प्रतिलिटर ७० रुपैयाँमा दूध बेच्दा दैनिक १४ हजार आम्दानी हुने गरेको फार्म सञ्चालक शाहीले बताए ।
 
“हामीले चार बिगाहा क्षेत्रफलको जमीन भाडामा लिएका छौँ”, सञ्चालक शाहीले भने, “अब अझै १० भैँसी थप्छौँ । 
 
कणकनाथ जातका कुखुरा र टर्कीपालन गर्ने तयारीमा पनि छौँ ।” भर्खरै शुरु गरेकाले धेरै आम्दानी नभए पनि भविश्यमा यस फार्मलाई कर्णालीकै नमूना बनाउने उनको दाबी छ ।
 
त्यस्तै अर्का सञ्चालक उत्तम उपाध्यायले फार्मले कन्य च्याउ, तरकारी उत्पादनलाई समेत जोड दिएको बताए ।
उनिहरुले ११ जनालाई फार्ममा रोजगारी समेत दिएका छन् । आगामी दिनमा बँदेल, हाँस, बङ्गुरलगायत पशु तथा पक्षीपालन व्यवसायलाई पनि अगाडि बढाउनेगरी कार्ययोजना बनाइरहेको जनाए ।
 
शुरुमा बजार पाउन गाह्रो भए पनि अहिले बजारको मागअनुसार दूध आपूर्ति गर्न धौधौ भएको उनकोे भनाइ छ ।
नेपियर, जै र वर्षिम जातको घाँस भैँसीका लागि उत्पादन गरेको भन्दै सञ्चालक उपाध्यायले सरकारलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
 
उक्त कृषि फार्मको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अवलोकन गरेकी छन् । युवाले नमूना कार्य गरेको भन्दै उनले परिश्रमी युवाको व्यवसाय प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन पहल गरिने बताईन् । रासस