ताप्लेजुङकी सिभिराले चुमिन मिस मंगोलको ताज

पौष ११,२०७६

-

पुस ११,२०७६ काठमाडौं ।
मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् ।
शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले भारतको नयाँदिल्लीबाट सिए गरेकी छन् ।
रिडी ग्रुप लिमिटेडको प्रायोजनमा भएको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन् ।
स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेज ३, गोरखाकी पुजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी  रेनुका पुन स्टेट ५ घोसित भए ।
सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो । 
यस प्रणाली अनुसार हरेक प्रदेशबाट एकएक जना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ । प्रतियोगिताको यो ११ औं संस्करण हो ।